प्रहरी सहायक निरिक्षक आधारभूत (अल्पकालीन) तालिम २-१६५ औ समुहको समापन
शिक्षालयमा निर्माण भएका भवनहरूको शिलान्यास गर्नुहुदै प्र.म.नि. सर्बेन्द्र खनाल ज्यु
निरीक्षण भ्रमणमा आउनु भएका रा.प्र.प्र.प्र. का कार्यकारी निर्देशक प्र.अ.म.नि. धिरू बस्न्यात ज्यु बाट शिक्षालय प्रहरी कर्मचारीहरुमा निरीक्षण

परिचय

        नेपालको मध्य भागमा अवस्थित नं. ३ प्रदेश अन्तर्गत जिल्ला चितवन, भरतपुर महानगरपालिका वडा नं.१० बसेनि स्थित २७0४१’४१.२८” उत्तरी अक्षांश र ८४0२६’१६.८०” पुर्वी देशान्तरमा अवस्थित नेपालको एक मात्र जुनियर प्रहरी अधिकृत शिक्षालयको पूर्वमा भरतपुर बाईपास पक्की सडक, पश्चिममा देवकी नहर, उत्तरमा तीनखोले र दक्षिणमा बीरेन्द्र वहुमुखी क्याम्पस रहेको जग्गाको चार किल्लाभित्र अवस्थित यस शिक्षालयको कूल क्षेत्रफल ३० विगाहा जमिनमा यस शिक्षालय रहेको छ ।
        नेपाल प्रहरीको राजपत्रअनंकित प्रहरी अधिकृत (जुनियर प्रहरी अधिकृत) दर्जाका प्रहरी कर्मचारीहरुको तालिममा एकरुपता  र विशिष्टता ल्याई उनीहरुलाई समय सापेक्ष प्रशिक्षण प्रदान गरी दक्ष र व्यवसायिक वनाउने उद्देश्यले प्रहरी नियमावली २०७१ को परिच्छेद- १३, नियम १५१ को उपनियम (३) मा भएको व्यवस्था बमोजिम नेपाल सरकारको मिति २०७१।०६।१० गतेको सचिव स्तरीय निर्णयवाट मिति २०७१ साल मंसिर २१ गते आईतवार यस जुनियर प्रहरी अधिकृत शिक्षालयको विधिवत् स्थापना भएको हो ।
        वि.सं.२०३१ सालमा काठमाण्डौंको रानीबारी स्थित प्रचण्ड भवनको परिसरमा स्थापित मध्य क्षेत्रिय प्रहरी तालिम केन्द्र वि.सं. २०४५।०५।०८ गते यसै स्थानमा स्थानान्तरण भई प्रहरी जवान, प्रहरी हवल्दार र जुनियर प्रहरी अधिकृतहरुको आधारभुत तथा सेवाकालिन प्रशिक्षणहरु संचालन गर्दै आएको अवस्थामा हाल उक्त तालिम केन्द्रलाई सिन्धुली जिल्लाको दुधौलीमा स्थानान्तरण गरिएको छ । उक्त प्रहरी तालिम केन्द्रकै जग्गा र अन्य भौतिक संरचनामा सुधार र विकास गरी यस जुनियर प्रहरी अधिकृत शिक्षालय संचालन गरिएको हो ।
       नेपाल प्रहरी संगठनको मेरुदण्डको रुपमा रहेको मुलुकभरका जुनियर प्रहरी अधिकृतहरुका लागि आधारभुत तालिम, अल्पकालिन तालिम तथा सेवाकालिन विभिन्न उन्नत तालिमहरु संचालन गर्ने तथा नेपाल प्रहरीका अन्य प्रशिक्षण केन्द्रहरुमा यस शिक्षालयको तत्वावधानमा संचालन हुने यस्ता प्रकारका तालिमहरुको समन्वय, नियन्त्रण र निर्देशन समेत यस शिक्षालयवाट हुदै आएको छ । भौगोलिक रुपमा लगभग नेपालको मध्य भागमा रहेको र व्यवस्थित शहरीकरण, औधोगिक विकास, शिक्षा, स्वास्थ्य तथा यातायात सेवाको दृष्टिकोणवाट समेत तुलनात्मक रुपमा सुविधा सम्पन्न अवस्थामा रहेको चितवन जिल्लाको भरतपुर महानगरपालिकामा अवस्थित यस जुनियर प्रहरी अधिकृत शिक्षालय देशभरिवाट प्रशिक्षण लिन आउने प्रशिक्षार्थीहरुलाई पायक पर्ने स्थानमा रहेको छ ।
       नेपाल सरकार तत्कालिन संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयवाट पर्यावरणीय सुन्दरता  र वातावरणमैत्री कार्यालयको रुपमा मान्यता प्राप्त यस जुनियर प्रहरी अधिकृत शिक्षालयको कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक निर्देशकको रुपमा रहने प्रावधान रहेको छ । शिक्षालयको स्थापित मान्यता “ ज्ञान, कर्म, कौशल ” लाई आत्मसात गर्दै नेपाल प्रहरीको जुनियर प्रहरी अधिकृतहरुमा समयानुकूल पेशागत ज्ञान, सीप र कलामा दक्ष बनाई शान्ति सुरक्षा कायम गर्ने कार्यमा नेपाल प्रहरीलाई राष्ट्रले सुम्पेको जिम्मेवारी कुशलतापूर्वक बहन गर्न यस शिक्षालयको महत्वपुर्ण भूमिका रहेको छ।